ममता काफ्ले हत्या प्रकरण: नरेश भट्ट दोषी ठहर, जन्मकैदको सजाय हुनसक्ने
- २५ कार्तिक २०८३
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको क्रूर हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ। झण्डै डेढ महिना लामो सुनुवाइपछि अदालतको जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको आरोपमा सर्वसम्मत दोषी मानेको हो। यो फैसलासँगै नरेशलाई अब २० वर्षदेखि आजीवन कारावास अर्थात् जन्मकैदसम्मको सजाय हुनसक्ने बताइएको छ। अन्तिम सजायको घोषणा आगामी मार्च १२ मा गरिनेछ।
सन् २०२० मा विवाह गरेर अमेरिका पुगेकी ममता गत जुलाईको अन्तिम सातादेखि अचानक बेपत्ता भएकी थिइन्। उनी काम गर्ने अस्पतालमा नआएपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए। तर, नरेशले सुरुमा घटना लुकाउन खोजेका थिए। पछि प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। ममताको शव भने अहिलेसम्म फेला पर्न सकेको छैन।
करिब ६ हप्ता चलेको अदालतको बहसमा सयभन्दा बढी साक्षीले बयान दिएका थिए। ममताका दाजु महेश काफ्ले र साथीहरूले नरेशले ममतामाथि निरन्तर शारीरिक र मानसिक हिंसा गर्ने गरेको अदालतलाई बताए। उनीहरूका अनुसार ममताले आफू असुरक्षित रहेको भन्दै अनुहारमा चोट लागेका तस्बिरसमेत पठाएकी थिइन्। ममता बेपत्ता हुनुभन्दा एक हप्ताअघि मात्र उनको अन्तिम अध्यागमन अन्तर्वार्ता तय भएको थियो।
अदालतमा नरेशले भने निकै स्तब्ध पार्ने बयान दिएका थिए। उनले ममताको हत्या आफूले नगरेको दाबी गर्दै जुलाई ३० को बिहान ओछ्यानमा विष खाएर अचेत अवस्थामा फेला पारेको बताए। त्यसपछि आफू निकै आत्तिएको र शवलाई बाथरुममा लगेर टुक्राटुक्रा पारी विभिन्न पाँच ठाउँको फोहोर फाल्ने भाँडोमा फालिदिएको उनले स्वीकार गरे। शव काट्न प्रयोग गरेको मेसिन उनले घर वरपर काम गर्ने एक जना स्थानीयलाई ज्यालाबापत दिएका थिए।
तर, सरकारी वकिलहरूले नरेशको आत्महत्याको कथालाई पूर्ण रूपमा झुटो साबित गरिदिए। फरेन्सिक जाँचबाट उक्त मेसिनमा भेटिएको रगत ममताकै भएको पुष्टि भयो। साथै, नरेशले घटना अघि इन्टरनेटमा श्रीमती हराउँदा के हुन्छ र शव काट्ने मेसिनबारे खोजेको प्रमाण अदालतमा पेस गरियो। यिनै बलिया प्रमाणका आधारमा अदालतले नरेशले पूर्वयोजना बनाएरै ममताको हत्या गरेको ठहर गरेको हो।