इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्री सैन्य शिविरमा सरे
- २५ कार्तिक २०८३
- १ मिनेटको पढाई
वाशिङ्टन– इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले आफ्नो घर छाडेका छन्। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार उनी वाशिङ्टनस्थित निवास छाडेर सुरक्षाका लागि सैन्य आधार शिविरमा सरेका हुन्।
मध्यपूर्वमा युद्ध सुरु भएदेखि नै बेसन्टले इरानको अर्थतन्त्रलाई कमजोर बनाउन विभिन्न प्रतिबन्ध लगाउन नेतृत्व गर्दै आएका छन्। गत महिना मात्रै अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले इरानले अमेरिकी नागरिक र अधिकारीहरुलाई लक्षित गर्ने प्रयास बढाएको चेतावनी दिएका थिए।
अहिले इरानले वर्तमान र पूर्व अमेरिकी अधिकारीहरुलाई लक्षित गरेर योजना बनाइरहेको स्रोतले बताएको छ। तर बेसन्टमाथिको धम्की कति गम्भीर छ भन्ने कुरा भने स्पष्ट भएको छैन। यसबारे अमेरिकी अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया दिएको छैन।
यसअघि हुथी विद्रोहीको आक्रमण बढेपछि अमेरिकाले साउदी अरबबाट आफ्ना दूतावासका कर्मचारी र उनीहरुका परिवारलाई फिर्ता बोलाएको थियो। त्यस्तै इरानको धम्कीका कारण अमेरिकाले बेलायतका दुईवटा आधार शिविरबाट आफ्ना केही विमान पनि हटाएको छ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार इरानमाथिको आर्थिक दबाबले थप आक्रमणको आवश्यकता नभएको बताएका छन्।