२७ कार्तिक २०८३, शुक्रबार
13 November 2026, Friday

न्युयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, १७ घाइते

न्युयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, १७ घाइते

न्युयोर्क- न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। बुधबार दिउँसो भएको यस दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

न्युयोर्कका मेयर जोहरान मामदानीले भग्नावशेषबाट ८ जनाको शव निकालिएको पुष्टि गरेका छन्। दुर्घटना भएको १५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि सयौँ उद्धारकर्मीले भग्नावशेषमा खोजी गरिरहेका छन्। खोजी कार्यका लागि तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरिएको छ। पानी पर्ने सम्भावना रहेकाले छिटोभन्दा छिटो मानिसहरुलाई बाहिर निकाल्न उद्धारको काम तीव्र पारिएको छ।

घाइते हुनेमा सात बालबालिका र तीन जना अग्निनियन्त्रक पनि छन्। मृत्यु हुनेमा इक्वेडरबाट आएका एक २६ वर्षीय निर्माण कामदार जोसे लुइस कागुआना पनि रहेको उनका भाइले बताए। भत्किएको भवनको भुइँतलामा पसल र माथिल्ला तलामा मानिसहरु बस्ने गरेका थिए। यो भवन नजिकै नयाँ संरचना बनाउन जमिन खन्ने काम भइरहेको थियो। अहिले घटनाको अनुसन्धान भइरहेको छ भने घरबारविहीन भएका प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।