उत्तर कोरियाली ह्याकरले नक्कली भिडियो कलबाट चोरे ६० अर्ब रुपैयाँ
- २७ कार्तिक २०८३
- १ मिनेटको पढाई
उत्तर कोरियाका ह्याकरहरूले नक्कली भिडियो कल र एआईबाट बनाइएका नक्कली भिडियो (डिपफेक) प्रयोग गरेर १८ महिनामा ४० करोड अमेरिकी डलर (करिब ६० अर्ब २९ करोड रुपैयाँ) भन्दा बढीको क्रिप्टोकरेन्सी चोरेका छन्। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का अनुसार उनीहरूले मुख्यगरी क्रिप्टोकरेन्सी र वेब-३ क्षेत्रमा काम गर्ने मानिसलाई निशाना बनाएका हुन्।
‘फेसस्टिलर’ नाम दिइएको यो ठगीमा ह्याकरले पहिला कुनै व्यक्तिको सामाजिक सञ्जाल ह्याक गर्छन्। त्यसपछि तिनै व्यक्तिका साथीभाइलाई भिडियो कलको निम्तो पठाउँछन्। कलमा जोडिएपछि एआईको मद्दतले चिनेकै मानिस वा चर्चित व्यक्तिको नक्कली अनुहार देखाएर विश्वासमा लिन्छन्।
कलको बिचमा ‘आवाज आएन’ भन्ने बहाना बनाएर उनीहरूले एउटा लिंक पठाउँछन्। त्यो लिंक खोल्ने बित्तिकै मोबाइल वा कम्प्युटरमा मालवेयर (हानिकारक सफ्टवेयर) पस्छ। यसैको मद्दतले ह्याकरले क्रिप्टोकरेन्सी चोर्छन् र नयाँ मानिसलाई फसाउन फेरि तिनै व्यक्तिको खाता प्रयोग गर्छन्।
एफबीआईका अधिकारी ब्रेट लेदरम्यानले उत्तर कोरियाले अवैध हतियार बनाउन यसरी पैसा चोर्ने गरेको बताए। त्यस्तै, अर्का अधिकारी प्याट्रिक ग्रान्डीले यो तरिकाले प्राविधिक ज्ञान भएका बाठा मानिसलाई पनि सजिलै झुक्याउने बताए। अनुसन्धानका क्रममा एफबीआईले ९०० भन्दा बढी यस्ता भिडियो फेला पारेको छ।