२८ कार्तिक २०८३, शनिबार
14 November 2026, Saturday

हिमालय जलवायु संयन्त्र स्थापनामा नेपालले माग्यो चीनको साथ

हिमालय जलवायु संयन्त्र स्थापनामा नेपालले माग्यो चीनको साथ

नेपालले ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापनाका लागि चीनसँग सहयोग र समर्थन मागेको छ। टर्कीको अन्ताल्यामा चलिरहेको कोप-३१ सम्मेलनका क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिनियाँ समकक्षी ह्वाङ रुनछ्युसँगको भेटमा यस्तो प्रस्ताव राखेकी हुन्। यो संयन्त्र नेपाल, भारत र चीनको नेतृत्वमा स्थापना गर्ने प्रस्ताव गरिएको छ।

भेटमा मन्त्री चौधरीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिम साझा चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य जरुरी रहेको बताइन्। साथै, उनले गत अगस्टमा रसुवा-भोटेकोशी क्षेत्रमा आएको विपद्मा चीनले गरेको सहयोग र हिमनदी तथा हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानका लागि चीनलाई धन्यवाद दिइन्।

मन्त्री चौधरीले कोप-३१ मा पर्वतीय मुद्दालाई प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने र जलवायु अनुकूलनका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने नेपालको अडान राखिन्। नवीकरणीय ऊर्जा र विद्युतीय यातायातमा चीनले गरेको प्रगतिको प्रशंसा गर्दै उनले यस क्षेत्रमा थप सहकार्य गर्न जोड दिइन् र चिनियाँ मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिइन्।