कास्कीका पर्यटकीय गाउँमा पर्यटकको ओइरो, बास पाउन मुस्किल
- २८ कार्तिक २०८३
- १ मिनेटको पढाई
तिहार र छठको बिदामा कास्कीका पर्यटकीय गाउँहरू घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो लागेको छ। पर्यटक धेरै आएपछि गाउँका होटल र घरबासमा पाहुना भरिभराउ भएका छन् भने अग्रिम बुकिङ नगर्नेलाई बास पाउनै मुस्किल परेको छ।
अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुकमा अहिले दैनिक करिब ३ हजार ५ सय पर्यटक पुगिरहेका छन्। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले कोठा पाउन कठिन भएकाले अग्रिम बुकिङ गरेर मात्र आउन आग्रह गरेका छन्। त्यहाँ अहिले ८० वटा होटल र ३५ घरबास सञ्चालनमा छन्।
मादी गाउँपालिकाको सिक्लेसमा पनि पर्यटकको चाप उस्तै छ। नमस्ते गेस्ट हाउसकी सञ्चालक झरना गुरुङले आइतबारसम्मका लागि होटल बुकिङ भइसकेको र नयाँ पाहुनालाई कोठा दिन कठिन भएको बताइन्।
यस्तै, माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँमा पनि पाहुना भरिएपछि व्यवस्थापन गर्न धौधौ परेको छ। ल्वाङ घरबास व्यवस्थापन समितिकी निवर्तमान अध्यक्ष मञ्जु गुरुङले तिहारको भोलिपल्टदेखि नै पाहुना भरिएको बताइन्। ल्वाङमा रहेका २६ वटा घरबासमा एकै रातमा ४०० जना बस्न सक्ने क्षमता छ।
चियाबारी, हिमालको दृश्य, गुरुङ संस्कृति र स्थानीय परिकारले यी गाउँहरू पर्यटकको रोजाइमा परेका हुन्। पोखराबाट सडक सुविधा सहज भएकाले पनि यहाँ जाने पर्यटक बढेका हुन्। पर्यटक बढेसँगै गाउँको व्यवसाय फस्टाए पनि बासको व्यवस्थापन गर्नु भने चुनौती बनेको छ।