सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठ मनाइयो
- २९ कार्तिक २०८३
- १ मिनेटको पढाई
सुनसरीका विभिन्न जलाशयमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइएको छ। इटहरीको बूढीगङ्गा जमुना मुक्तिधाम, सप्तकोशी नदी, बराहक्षेत्र, धरानका सर्दु र सेउती खोला लगायतका ठाउँमा व्रतालुले सूर्यको उपासना गरेका हुन्।
बिहानैदेखि जलाशयमा पुगेका व्रतालुले ठकुवा, भुसुवा, उखु, नरिवल, केरा र अन्य फलफूल चढाएर पूजा आराधना गरेका थिए। बूढीगङ्गा-जमुना मुक्तिधाम व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्णले यहाँ विगत ३६ वर्षदेखि सामूहिक रूपमा छठ मनाउँदै आएको बताए। उनले यस वर्ष पनि विभिन्न ठाउँबाट श्रद्धालुहरू आएको र व्यवस्थापनका लागि करिब १०० जना स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।
त्यसैगरी, ब्राह्मण समाज सुनसरीका अध्यक्ष वासुदेव बरालले छठ अब मैथिली र भोजपुरी समुदायको मात्र नभएर सामाजिक एकता र सद्भावको साझा पर्व बन्दै गएको बताए। प्रकृति, जल र सूर्यको पूजा गरिने यो पर्व पहिले घरघरमा सीमित कुण्ड बनाएर मनाइने भए पनि अचेल नदी र खोलामा सामूहिक रूपमा मनाउने चलन बढेको उनले सुनाए।
चार दिनसम्म चल्ने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठ विधिवत् रूपमा समापन हुनेछ।