३० कार्तिक २०८३, सोमवार
16 November 2026, Monday

प्राविधिक गडबडीले अमेरिकाको हवाई सेवा अस्तव्यस्त, हजारौँ यात्रु अलपत्र

प्राविधिक गडबडीले अमेरिकाको हवाई सेवा अस्तव्यस्त, हजारौँ यात्रु अलपत्र

न्युयोर्क- अमेरिकामा प्राविधिक गडबडीका कारण राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिँदा हजारौँ यात्रु प्रभावित भएका छन्। शुक्रबार चार घण्टाभन्दा बढी समय उडान रोकिएपछि शनिबार रातिदेखि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबार मात्रै करिब १२ हजार उडान सञ्चालन हुन सकेनन्। त्यस्तै, शनिबारका लागि तय भएका ४१ हजारमध्ये करिब ५ हजार उडान रद्द गरिएका छन्। पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण देशका विभिन्न विमानस्थलमा यात्रुहरू अलपत्र परेका हुन्।

एफएएका प्रशासक ब्रायन बेडफोर्डले हवाई यातायात प्रणाली अहिले सञ्चालनमा रहेको र आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने अपेक्षा रहेको बताए। उनले यात्रुहरूलाई परेको असुविधाप्रति माफी माग्दै कर्मचारीहरूको कामको प्रशंसा गरे। यसैगरी, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले यो समस्या साइबर आक्रमणका कारण नभएको र कसैको ज्यान जोखिममा नपरेको स्पष्ट पारे।

यातायातमन्त्री सिन डफीका अनुसार पुरानो तामाको तारलाई नयाँ फाइबर तारले फेर्ने क्रममा अत्यधिक भार परेर यो समस्या उत्पन्न भएको हो। प्रभावित यात्रुलाई राहत दिन विमान कम्पनीहरूले टिकट परिवर्तन शुल्क हटाएका छन्। उडान रद्द भएका यात्रुले अर्को उडानमा निःशुल्क सर्न वा टिकटको पूरै रकम फिर्ता पाउन सक्ने व्यवस्था मिलाइएको छ।