स्पेसएक्सको १५औँ परीक्षण उडान सफल: उडेकै टावरमा फर्कियो स्टारसिप
- २९ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान ‘स्टारसिप’को १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यस परीक्षणमा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक उडेकै ठाउँको प्रक्षेपण टावरमा सुरक्षित रूपमा अवतरण भएको छ।
शुक्रबार अमेरिकाको टेक्सासबाट उडान भरेको यो यान करिब साढे २२ घण्टा अन्तरिक्षमा बिताएर शनिबार दिउँसो फर्किएको हो। यस पटक यान र त्यसलाई बोक्ने ‘सुपर हेभी बुस्टर’ दुवैलाई उडेकै टावरमा फर्काएर समात्ने लक्ष्य राखिएको थियो। तर, बुस्टर भने टावरमा फर्किन सकेन र समुद्रमा खस्यो।
अन्तरिक्षमा पुगेपछि स्टारसिपले २६ वटा नयाँ पुस्ताका ‘स्टारलिङ्क’ भूउपग्रहहरू प्रक्षेपण गरेको थियो। त्यसपछि पृथ्वीमा फर्किएको यानले आफ्नो इन्जिन सञ्चालन गर्दै गति मिलाएर प्रक्षेपण टावरको विशेष संरचनामा सफलतापूर्वक अवतरण गर्यो।
यस यानलाई पूरै पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। यही यानमार्फत भविष्यमा मानिस र सामानलाई चन्द्रमा, मंगल ग्रह र अन्य अन्तरिक्ष गन्तव्यसम्म पुर्याउने कम्पनीको लक्ष्य छ।