चिनियाँ अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी यात्री बन्दै पाकिस्तानी नागरिक
- ०८ मंसिर २०८३
- १ मिनेटको पढाई
बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । बुधबार प्रक्षेपण गरिने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दलमा ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीलाई समावेश गरिएको हो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अलीले चिनियाँ यात्रीहरू ताङ होङ्बो र वु यीसँगै उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो संयुक्त उडान हुन लागेको हो ।
छोटो अवधिको यस मिसनमा अलीले पेलोड विशेषज्ञका रूपमा जैवप्रविधि, सामग्री विज्ञान तथा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नेछन् । काम सकेपछि उनी शेन्झाउ–२३ अन्तरिक्ष यानमार्फत पृथ्वी फर्किनेछन् । यस मिसनका अर्का सदस्य ताङ होङ्बो तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो यात्री बन्नेछन् । चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ ।