विश्वभर आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या
- ०८ मंसिर २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा करिब पाँच र दैनिक १२९ महिला तथा बालिका आफन्त वा नजिकका व्यक्तिबाट मारिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले १२२ देशको तथ्याङ्क विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशत आफन्तबाटै मारिएका हुन् । पछिल्ला केही वर्षयता यस्तो सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ ।
क्षेत्रगत रूपमा आफन्तबाट मारिने महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । यस्तै एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जना मारिएका छन् । विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक मान्यता, लैङ्गिक रूढिवादी सोच र न्याय प्रणालीमा पहुँचको अवरोधले यस्ता अपराध नियन्त्रण गर्न कठिन बनाएको राष्ट्रसङ्घले जनाएको छ । घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीच हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ ।