९ मंसिर २०८३, बुधबार
25 November 2026, Wednesday

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

क्वालालम्पुर- युट्युबमा रहेका जुवा, अनलाइन ठगी र मानहानिकारक सामग्री हटाउन असफल भएको भन्दै मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले गुगलले कानुनी दायित्व र इजाजतपत्रका सर्त पालना नगरेको आरोपमा दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको हो ।

पहिलो मुद्दा युट्युबमा फैलिएका जुवा र अनलाइन ठगीका सामग्री रोक्न पर्याप्त कदम नचालेको विषयमा केन्द्रित छ । आयोगका अनुसार यस वर्ष जनवरी १ देखि अक्टोबर २८ सम्म युट्युबका सामग्रीविरुद्ध ७३ हजारभन्दा बढी उजुरी दिइएको थियो । तीमध्ये अधिकांश अनलाइन जुवासँग सम्बन्धित थिए । करिब पाँच हजार उजुरीमा कुनै सुनुवाइ नभएको र हजारौँ उजुरीमा कारबाही गर्न महिनौँ ढिलाइ भएको आयोगको भनाइ छ ।

यस्तै, दोस्रो मुद्दा मलेसियाली एक ब्लगरले युट्युबमा राखेको झुटो र मानहानिकारक सामग्री उजुरीपछि पनि नहटाएको विषयमा दायर गरिएको हो । गुगलले मलेसियामा १५ अर्ब अमेरिकी डलर बराबरको डेटा सेन्टर र पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गरेको तीन सातामै यो कानुनी कारबाही अघि बढेको हो । मलेसियाले यसअघि टिकटकसहित अन्य सामाजिक सञ्जालमाथि पनि आपत्तिजनक सामग्री नहटाएको भन्दै कारबाही गरिसकेको छ ।