९ मंसिर २०८३, बुधबार
25 November 2026, Wednesday

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत

काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो रकम मुलुकको कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ०८ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुमा २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ रहेको कुल ऋण विनिमय दरमा भएको नाफाका कारण केही घटेर कात्तिक मसान्तमा यो बिन्दुमा आइपुगेको हो । कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड र आन्तरिक ऋण १४ खर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत प्रगति हो । प्राप्त ऋणमध्ये आन्तरिकतर्फ १ खर्ब २५ अर्ब र वैदेशिकतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । अझै ५ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँ ऋण परिचालन गर्न बाँकी छ ।

यस्तै, ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चालु वर्ष ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएकोमा कात्तिकसम्म १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ भुक्तानी भएको छ । जसमा आन्तरिक ऋणको साँवा–ब्याजमा १ खर्ब १९ अर्ब १८ करोड र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।