२१ अशोज २०८३, बुधबार
7 October 2026, Wednesday

न्युजर्सीमा पहिलोपटक येँया पुन्ही भव्य रूपमा सम्पन्न

न्युजर्सीमा पहिलोपटक येँया पुन्ही भव्य रूपमा सम्पन्न

न्युजर्सी — न्यु जर्सीको पारामसमा सेप्टेम्बर २०, आइतबार, NJ धिमे डान्स एन्ड कल्चरल ग्रुपको आयोजनामा पहिलोपटक येँया पुन्ही (इन्द्रजात्रा) भव्य रूपमा सम्पन्न भएको छ।

यसअघि न्युजर्सीको ओल्ड ब्रिजमा विगत केही वर्षदेखि सीमित नेपाली समुदायबीच मात्र मनाइँदै आएको येँया पुन्ही यस वर्षदेखि भने सबैका लागि खुला गरी व्यापक रूपमा आयोजना गरिएको हो।

संस्थाका संस्थापक कविन महर्जन, संयोजक विजया मानन्धर तथा NJ धिमे डान्स एन्ड कल्चरल ग्रुपका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा न्यु जर्सीस्थित विभिन्न नेपाली सङ्घ–संस्थाको साथ र सहयोगसमेत रहेको थियो। कार्यक्रममा स्थानीय मेयर तथा काउन्सिलवुमनको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमस्थललाई विभिन्न भित्तेचित्र तथा अन्य सामग्रीले सजाएर काठमाडौँको मौलिक संस्कृति र वातावरण झल्काउने प्रयास गरिएको थियो। लाखे नाच, कुमारी, धिमे बाजा तथा धिमे नृत्यलगायतका सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

जात्राका क्रममा सहभागीहरूले कुमारीको दर्शन गर्नुका साथै परम्परागत समयबजीको स्वाद लिएका थिए। बालबालिकाहरूले नेपाली नृत्य तथा कुमारी चर्या नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा आयोजक समूहका दिदीबहिनी तथा दर्शकहरूसमेत सहभागी भई सामूहिक धिमे नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिकूल मौसमका बावजुद कार्यक्रममा करिब ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी सबैलाई निःशुल्क समयबजीसमेत वितरण गरिएको थियो।

यसै अवसरमा नेपालमा हालै गएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि सङ्कलन गरिएको करिब १५,००० अमेरिकी डलर सहयोग रकम नेपाल पठाउने घोषणा पनि आयोजकहरूले गरेका थिए।

विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामाझ नेपाली कला–संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

नेपाल बाहिर रहेर पनि पुस्तौँदेखि चलिआएका नेवारी कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई त्यससँग जोड्ने प्रयासका रूपमा येँया पुन्हीको यस आयोजनालाई हेरिएको छ।