४ कार्तिक २०८३, बुधबार
21 October 2026, Wednesday

टाउन अफ ओएस्टर बेद्वारा अक्टोबर १९ लाई ‘दिवाकर पाण्डे दिवस’ घोषणा

टाउन अफ ओएस्टर बेद्वारा अक्टोबर १९ लाई ‘दिवाकर पाण्डे दिवस’ घोषणा

न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित टाउन अफ ओएस्टर बेले अक्टोबर १९ लाई ‘दिवाकर पाण्डे दिवस’ घोषणा गरेको छ। समुदाय सेवा, मानवीय कार्य र नेपाली समुदायको नेतृत्वमा पुर्‍याएको लामो योगदानको कदर गर्दै उनलाई यो विशेष सम्मान दिइएको हो।

लङ आइल्यान्ड नेपाली समाजले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पाण्डेलाई सम्मान गरिएको हो। समाजकी अध्यक्ष सावित्रा सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा टाउन अफ ओएस्टर बेकी काउन्सिल वुमन भिकी वाल्स प्रमुख अतिथि थिइन्। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव विशाल रेग्मीले गरेका थिए।

एनआरएनए अमेरिकाका उपाध्यक्षसमेत रहेका पाण्डेले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण समुदायको सम्मान भएको बताए। उनले सम्मानका लागि टाउन सुपरभाइजर जोसेफ सालाडिनो, कार्यक्रम आयोजक लङ आइल्यान्ड नेपाली समाज र स्थान उपलब्ध गराउने आशा माई मन्दिर परिवारप्रति आभार प्रकट गरे। यसले आफूलाई निरन्तर समाजसेवामा लाग्न थप प्रेरणा मिलेको उनले बताए।

विभिन्न संघसंस्थाका प्रमुख तथा स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। सोही अवसरमा समाजका विगतका कार्यक्रममा संयोजकको भूमिका निर्वाह गर्ने सदस्यहरूलाई टाउन अफ ओएस्टर बेबाट प्राप्त सम्मानपत्रसमेत हस्तान्तरण गरिएको थियो।

– बेगम पण्डित, त्रिवेणी टाइम्स, न्युयोर्क