१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

रूसको दागेस्तान हमलाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा निन्दा

रूसको दागेस्तान हमलाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रङ्घीय सुरक्षा परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रूसको दागेस्तानमा आइतबार भएको आतङ्कवादी हमलाको ‘कडा शब्दमा’ निन्दा गरेको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले रूसी सङ्घको दागेस्तान गणतन्त्रमा भएको ‘जघन्य र कायरतापूर्ण आक्रमण’को कडा निन्दा गरेका हुन ।

विज्ञप्तिमा पीडित परिवार, सरकार र रूसका जनताप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरिएको छ भने घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।

आतङ्कवादको गतिविधि र अभिव्यक्तिले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा भएको पुष्टि गर्दै सुरक्षा परिषद्का सदस्यले आतङ्कवादका अपराधी, आयोजक, वित्तपोषण गर्ने तथा प्रायोजकलाई जवाफदेही बनाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरामा जोड दिए ।

उनीहरूले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्तावहरू अन्तर्गत आफ्ना दायित्वहरू अनुसार यस सन्दर्भमा रूसी सरकार र अन्य सरोकारवाला अधिकारीसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यले आतङ्वादी आक्रमणलाई आपराधिक र अन्यायपूर्ण भएको दोहोर्याउदै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व अनुसार आतङ्कवादी कार्यबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतरासँग लड्नुपर्ने आवश्यकतालाई औल्याएका छन् ।

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा आइतबार भएको आक्रमणमा प्रहरी अधिकारी र सर्वसाधारणसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।