२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

इरानको राष्ट्रपतीय निर्वाचनमा मसुद पेजेस्कियान विजयी

इरानको राष्ट्रपतीय निर्वाचनमा मसुद पेजेस्कियान विजयी

इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् ।

चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् ।

जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान ४० प्रतिशत थियो।

इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कँदै गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित नौ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।