अमेरिकाको स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको मृत्यु
- २२ असार २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राज्य अमेरिकाको २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई सिन्ह्वाले जनाएको हो । अमेरिकाले जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा मात्र गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो भने ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको खबरमा उल्लेख छ ।
यस्तै, हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतसबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुईजनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । यस्तै बोस्टनमा तीनवटा गोलीकाण्ड भएकोमा एक जनाको ज्यान गएको छ ।
अमेरिकामा विभिन्न सुखद् घटनाहरूमा गोलीकाण्ड धेरै हुने गरेका छन् । यो वर्ष अर्थात् सन् २०२४ को पहिलो दिन भएका गोलीकाण्डमा १५ जनाको ज्यान गएको थियो ।