१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक जगमा दरार बढ्दै

अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक जगमा दरार बढ्दै

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक जगमा दरार झन् झन् बढेको छ । बिहीबार राष्ट्रपति बाइडेनले पत्रकार सम्मेलन बोलाएका छन् । सम्मेलनअघि बाइडेनमाथि राष्ट्रपतिको आगामी चुनावमा आफ्नो उम्मेदवारी त्याग्नुपर्ने दबाब झनै बढेको छ ।

कंग्रेसदेखि हलिउडसम्मका डेमोक्रेट समर्थकहरूले बाइडेनले पार्टी र देशकै लागि भए पनि आफ्नो उम्मेदवारी छाड्नुपर्ने दबाब दिइरहेका छन् । हठी राष्ट्रपतिले आफ्नो विकल्पबारे पुनः विचार गर्नुपर्ने पूर्व सभामुख नेन्सी पेलोसीले पनि भनेकी छिन् ।

राष्ट्रपतिको निर्वाचनमा जसरी पनि लडेरै छाड्छु भन्ने ८१ वर्षीय बाइडेनको अड्डीले प्रजातन्त्र नै धरापमा पर्ने हो कि भन्ने खतरा उत्पन्न भएको केही डेमोक्रेटहरूले चिन्ता व्यक्त गरेका छन् । ट्रम्पसँग आमने सामने बहस अघि नै बाइडेनप्रति कयौँले शङ्का व्यक्त गरिरहेका थिए । राष्ट्रपतिको पहिलो बहसमा बाइडेन ट्रम्पको तुलनामा निकै कमजोर देखिए । यसपछि पार्टी भित्र उनलाई उम्मेदवार उठाइनु हुन्न भन्ने बहस चर्किएको छ ।

पार्टीभित्रै घट्दै गइरहेको समर्थन र चुनावी अभियानका क्रममा जनमत सर्वेक्षणको नतिजामा देखिएको हविगतले पनि बाइडेनले चुनाव जित्न नसक्ने देखाइरहेको छ । बुधवार नेटोको शिखर सम्मेलनमा बाइडेनले विश्वका ठुला नेताहरूलाई भेटेका  थिए । युक्रेनलाई कसरी बचाउने भनेर भएको सो छलफलमा बाइडेनको एक्लो उपस्थिति र पछिल्ला २४ घण्टाका केही घटनाक्रमले पनि बाइडेनको राजनीतिक भविष्य राम्रो देखाएको छैन । आगामी निर्वाचनमा बाइडेनको विकल्पमा अरूलाई नउठाए पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भारी मतले जित्ने र कंग्रेसमा रिपब्लिकनहरूको दबदबा हुने भय डेमेक्रेट पार्टीभित्र बढेको छ ।

पत्रकार सम्मेलनमा बाइडेनको तर्क वितर्क वा प्रदर्शनले उमेरमाथिको प्रश्न थप बढायो भने डेमोक्रेट पार्टीभित्र अन्तरसंघर्ष चर्किन सक्नेछ । बुधवार भर्मन्टका सिनेटर पिटर वेल्चले सार्वजनिक रूपमै बाइडेनलाई पछाडि हट्न अनुरोध गरेका थिए । उनले भनेका छन्– ‘कुनै बेला बाइडेनले आफूहरूलाई ट्रम्पबाट जोगाएको र फेरि पनि त्यस्तै गर्न चाहेका छन्, तर उनले यसका लागि आफू उत्तम उम्मेदवार हो कि होइन भनेर पुनः विचार गर्नुपर्नेछ ।’

आफ्नो विचारमा उनी यसका लागि उपर्युक्त व्यक्ति नभएको पनि बताएका थिए ।