१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

बाइडेनले ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेर सम्बोधन गरेपछि…

बाइडेनले ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेर सम्बोधन गरेपछि…

वासिङ्टन डिसी -अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेर सम्बोधन गरेका छन् ।

राष्ट्रपति बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

तर, प्रेस सम्मेलन समाप्त भएपछि बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाए ।

एक घण्टासम्म चलेको उक्त पत्रकार सम्मेलनमा बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई ट्रम्प भनेर सम्बोधन गरेको गल्तीलाई पनि महसुस गर्न सकेनन् । हलमा केही हाँसो भने गुञ्जिएको थियो ।

यसअघि एक कार्यक्रममा उनले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भनेका थिए । तर, पछि उनले हाँसेर यो गल्ती सच्याएका थिए ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा दौडिरहेका राष्ट्रपति बाइडेनको स्वास्थ्यबारे डेमोक्र्याट सदस्यहरूमा चिन्ता बढ्दै गएको छ।

यस पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।