विश्वमा दैनिक ८ सय जना महिला गर्भ र सुत्केरी अवस्थाकै कारण ज्यान गुमाउँदै
- २९ असार २०८१
- १ मिनेटको पढाई
संयुक्त राष्ट्रसङ्घ- विश्वमा अहिले गर्भ र प्रसवसम्बन्धी समस्याका कारण दैनिक झन्डै आठ सय जना महिलाले ज्यान गुमाउने गरेको पाइएको छ । हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिनुभएको सन्देशमा यस्तो तथ्याङ्क समावेश गर्नुभएको हो ।
महासचिव गुटेरेसले २१ औँ शताब्दीमा पनि हरेक दिन झन्डै ८ सय जना महिलाले गर्भावस्था तथा प्रसवको समयमा अनावश्यक ज्यान गुमाउनु अपमानजनक अवस्था रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको पनि बताउनुभयो ।
दैनिक आठ सय जनाको ज्यान गइरहेको यो तथ्याङ्क सन् २००० को भन्दा ३४ प्रतिशत कम हो । आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्युदर घटेको भए पनि गर्भावस्था र प्रसवसम्बन्धी समस्यामा महिलाहरूले ज्यान गुमाउनुपर्ने अहिलेको अवस्था प्रविधि र ज्ञानको विकासअनुसार उपयुक्त नभएको राष्ट्रसङ्घले जनाएको छ ।