१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएको पुष्टि

ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएको पुष्टि

वासिङ्टन डीसी- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएको पुष्टि भएको छ । घटनापछि तत्कालै मृत्यु भएका एक व्यक्ति आक्रमणकारी भएको पुष्टि अमेरिकी सुरक्षा निकायले गरेका हुन् ।

यसअघि मृत्यु भएका तिनै पुरुषलाई गोली प्रहारमा संग्लग्नको आशंका गरिएको थियो । तिनै व्यक्ति आक्रमणकारी भएको पुष्टि भएको हो ।

ती व्यक्ति यूएस सेक्रेट सर्भिस स्नाइपरद्वारा मारिएका हुन् । घटनामा एक सर्वसाधारणको पनि मृत्यु भएको छ ।

नेपाली समयअनुसार आइतवार बिहान भएको गोली प्रहारबाट ट्रम्पको अनुहारमा चोट लागेको छ । कानको भागमा रगत बढी आइरहेको तस्वीरमा देख्न सकिन्छ ।

अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।

ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो ।  गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए ।

गोली लागेर घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको अनुहारमा लागेका चोटहरू त्यति गम्भीर नरहेको बताइएको छ ।