२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

छोराबुहारीले जंगलमा छाडेका वृद्धको उद्धार

छोराबुहारीले जंगलमा छाडेका वृद्धको उद्धार

बेलबारी – मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन्।

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्ष उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो। वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए। ‘चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ। हाल उहाँको उपचार भइरहेको छ,’ उनले भने।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए। बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन्।