केन्टुकी राज्यको लन्डन सहरनजिकै राजमार्गमा गोली प्रहार, ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर
- २३ भदौ २०८१
- १ मिनेटको पढाई
केन्टुकी — अमेरिकाको केन्टुकी राज्यको लन्डन सहरनजिकै राजमार्गमा भएको अन्धाधुन्ध गोली प्रहारमा ७ जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गोली प्रहारपछि फरार बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा ३२ वर्षीय युवाको नाम सार्वजनिक गरेको बीबीसीले जनाएको छ । ५ फूट १० इन्च अग्ला ती व्यक्ति हाल कहाँ छन् भन्ने थाहा नभएको बताइएको छ । प्रहरीले उनको साथमा हतियार रहेको र उनी खतरनाक भएको जनाएको छ ।
लन्डनका मेयर रन्डल वेडलले संदिग्ध आक्रमणकारी फरार अवस्थामै रहेकाले मानिसहरूलाई घरको ढोका लगाएर बस्न आह्वान गरेका छन् । शनिबार राति भएको घटनापछि ‘इन्टरस्टेट–७५’ मा सवारी साधन आवागमन अवरुद्ध भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजमार्गनजिकै रूखहरू भएको क्षेत्र वा ओभरपासबाट गोली चलेको थियो ।
‘शंकास्पद व्यक्ति अहिलेसम्म पक्राउ परिसकेका छैनन् । खोजी कार्य चलिरहेको छ,’ मेयर र्यान्डलले फेसबुकमा राखिएको एउटा भिडिओमा भनेका छन्, ‘आक्रमणकारी रहेको सम्भावित स्थान अप्ठेरो छ र धेरै रुखहरू छन् ।’