२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

कम्बोडियाको ठगी केन्द्रमा बन्धक २१ नेपालीको उद्धार

कम्बोडियाको ठगी केन्द्रमा बन्धक २१ नेपालीको उद्धार

काठमाडौं – आकर्षक कामको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २१ जना नेपाली नागरिकको उद्धार गरिएको छ। अवैध रूपमा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोमा बन्धक बनाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको हो।

बैंककस्थित नेपाली दूतावासको पहल र गैरआवासीय नेपाली संघ कम्बोडियाको सहयोगमा उनीहरूको उद्धार सम्भव भएको हो। उद्धार गरिएकाहरूमध्ये धेरैजना बिनाभिसा बसिरहेका थिए भने कतिपयलाई जबरजस्ती गैरकानुनी काममा लगाइएको थियो।

ठगी धन्दा चलाउने कम्पनीहरूले कामदारको राहदानी (पासपोर्ट) समेत जफत गर्ने गरेकाले धेरै नेपाली समस्यामा परेका छन्। यस्तो अवस्थामा दूतावासले निःशुल्क ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल पठाउने व्यवस्था मिलाएको छ। अझै पनि त्यहाँ अप्ठ्यारोमा परेका अन्य नेपालीलाई फर्काउने प्रक्रिया जारी रहेको दूतावासले जनाएको छ।

तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा भिजिट भिसामा कम्बोडिया जाने नेपालीको संख्या ह्वात्तै बढेको छ। सन् २०२१ मा जम्मा १०१ जना गएकोमा सन् २०२५ सम्म आइपुग्दा यो संख्या ९ हजार ६ सय नाघेको छ।

सरकारले ठूलो कमाइको लोभमा परेर कम्बोडिया, लाओस, म्यान्मार र थाइल्याण्डजस्ता देशमा जथाभावी नजान आग्रह गरेको छ। वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान दूतावासले सबैलाई सचेत गराएको छ।