विश्व व्यवस्थामाथि खतरा बढेको अमेरिका र बेलायतका गुप्तचर प्रमुखको चेतावनी
- २३ भदौ २०८१
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी गुप्तचर निकाय (सीआईए) निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।
फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा २ गुप्तचर प्रमुखले भनेका छन्, ‘हामीसँग एकअर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन । उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने बताएका छन् ।’
संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये २ प्रमुख राष्ट्र हुन् ।
‘सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ,’ लेखमा भनिएको छ, ‘रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंशको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौं ।’
लेखमा ‘उनीहरू (अमेरिका र बेलायत) ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले संकलन गरेका तथ्यांकको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्त्वका साथ उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएकोे वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा चेतावनी आएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।
ह्वाइट हाउसले शुक्रबार भनेको छ, ‘उनीहरू (बाइडेन र स्टर्ममर) ले अन्य कुराका साथै युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् ।
इजरायलप्रति २ राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो । युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।