अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपालीले भोट दिन पाउने, ३५ हजार नयाँ मतदाता
- ०१ अशोज २०८१
- १ मिनेटको पढाई
नूयोर्क : सन् २०२४ को अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै छ। यस पटकको निर्वाचनमा करिब १ लाख नेपाली मूलका अमेरिकीहरूले मतदान गर्न पाउने छन्। ३५ हजारले पहिलो पटक मतदान गर्ने जनाइएको छ।
सन् २०१४ सम्ममा २० हजार ९२६ नेपाली अमेरिकीले अमेरिकी नागरिकता पाएका थिए । पछिल्लो दशकमा थप ६६ हजार नेपाली अमेरिकी नागरिक बनेका छन्। होमल्याण्ड सेक्युरिटी विभागका अनुसार सन् २०१५ देखि २०२३ सम्म ५६,८६३ नेपालीलाई अंगीकृत नागरिकता दिइएको थियो। सन् २०२४ मा कुल ६६,०००ले नागरिकता पाउने अनुमान गरिएको छ।
हालसम्म करिब ८७ हजार नेपालीले अमेरिकी नागरिकता लिएका छन् । २०१४ देखि २०२४ सम्म नेपाली अमेरिकी जनसंख्यामा लगभग ३१४.२९% वा लगभग ४.१४ गुणाले वृद्धि भएको छ। संयुक्त राज्य अमेरिकामा जन्मेका दोस्रो पुस्ताका नेपाली अमेरिकीहरूलाई समावेश गर्दा, कुल जनसंख्या लगभग १ लाख छ।
आर्थिक वर्ष २०२३ मा ७ हजार ९३० नेपालीले अमेरिकी नागरिकता पाएका छन् । सन् २०२२ मा यो संख्या ९ हजार ४०८ थियो भने २०२१ मा ७ हजार २ सय ३२ नेपालीलाई अंगीकृत गरिएको थियो । सन् २०२४ मा करिब १० हजार नेपालीले अमेरिकी नागरिकता पाएसँगै सन् २०२० को राष्ट्रपतीय निर्वाचनपछि झण्डै ३५ हजार नेपाली अमेरिकी नागरिक बनेका छन् । यसको मतलब उनीहरू पहिलो पटक अमेरिकी राष्ट्रपतिको आगामी चुनावमा मतदान गर्न योग्य हुनेछन्।