७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

द्वन्द्व पत्रकारिताको एक दशकमाथि न्यूयोर्कमा विमर्श

द्वन्द्व पत्रकारिताको एक दशकमाथि न्यूयोर्कमा विमर्श

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श गरिएको छ ।

रिजउड नेपाली समाज र काठमाडाै फ्युजनको सहयोगमा सुदूरपश्चिम समाज अमेरिकाद्वारा न्यूयोर्कमा आयोजित पुस्तक विमर्श कार्यक्रमका सहभागी वक्ताहरुले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभव साटासाट गरे । आगामी समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस् भनेर कामना गरे।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले पत्रकार उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरबारेमा चित्रण गरिएको बताए।

‘१० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकार पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे । राज्य र विद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दबाब दिए ।’ सभापति विष्टले भने, ‘यो पुस्तक त्यो समयको साक्षी हो । अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो ।’

उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई गरेको योगदानको प्रशंसा गर्नुभयो । उनले भने, ‘सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता गर्दैआएको उपाध्यायको पत्रकारितासँगै साहित्य र समाजसेवामा विशिष्ट योगदान कसैले बिर्सिन सक्दैन ।’

उपाध्याय सुदूरपश्चिमका सवाललाई काठमाडौंसँग मात्र नभएर संसारसँग जोड्ने सशक्त पत्रकार हुन्, विष्टले भने, ‘जसले द्वन्द्वमा नागरिकका बाँच्न पाउने अधिकारका लागि लडे र शान्ति प्रक्रियापछि सुदूर पश्चिमको विकास र समृद्धिका लागि निरन्तर रुपमा पैरवी गरे ।’

कार्यक्रमका अतिथि साहित्यकार किसनसिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसँगै कविता सङ्ग्रह आमा म आउँदैछु कविता सङ्ग्रहका बारेमा टिप्पणी गरे। कार्यक्रममा सहभागीमध्ये अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठो पीडा र अनुभव सुनाए । कतिपयले आफू अपहरणमा परेको सुनाए।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार उपाध्यायले पुस्तकमा पत्रकारिता र सिङ्गो देशले भोगेको द्वन्द्व र त्यसको असर समेटिएको बताउनुभयो । उनले भने, “एउटा पत्रकारको युद्ध रिपोर्टिङको अनुभव मात्र यो पुस्तकमा समेटिएको छैन, आम नागरिकले भोगेका पीडा पनि पुस्तकमा समेटिएको छ । अनाहकमा मारिएका, बेपत्ता पारिएका पत्रकार र आमनागरिक र तिनका परिवारका कथा, व्यथा र अनुभव पुस्तकमा समेटिएका छन् ।”

द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामि पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताए। कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट ‘मृत्युले भन्यो म छु नि त, छोरी र बा’ शीर्षकको कविता सुनाए।

पत्रकार उपाध्यायले सुदूरपश्चिम समाज अमेरिकाद्वारा पुस्तक बिमर्शसँगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आभार व्यक्त गरे। कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, काठमाडाै फ्युजनका सञ्चालक जीवन बम र कार्यक्रममा सहभागी सबै अतिथिलाई धन्यवाद दिए।

कार्यक्रममा रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, गैर आवासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष लक्ष्मी थापा, सुदूरपश्चिम समाजका अगुवा मोहनसिंह बिष्टले पत्रकारिता र साहित्यका माध्यमबाट उपाध्यायले गरेको योगदानको प्रशंसा गरे।

कार्यक्रमका बिशिष्ट अतिथि बिष्ट, सुदूरपश्चिम समाजका अगुवा जीवन बम, हरिशचन्द्र हमाल, पूर्व अध्यक्षहरु रामबहादुर देउवा, गणेश बिष्टलगायतले पत्रकार उपाध्यायलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम समाज अमेरिकाका उपाध्यक्ष नवीन ओझाले पत्रकारिता र सामाजिक क्षेत्रमा अढाइ दशकदेखि सक्रिय उपाध्यायसँग माइती नेपालको धनगढीको प्रमुखका रुपमा आफू कार्यरत रहँदा सहकार्य गरेको सुनाए। उनले भने, “उपाध्याय हाम्रो पुस्ताका सशक्त पत्रकार हुनुहुन्छ । जसले सधैं निर्भीक भएर पत्रकारिता गरे ।’

सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष विष्टले ऐतिहासिक पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक र कविता सङ्ग्रह‘आमा म आउँदैछु’ का लागि उपाध्यायलाई बधाई दिए। कार्यक्रममा राईभान महराले मन्तव्य राखेका थिए ।
पत्रकार उपाध्यायका चार वटा कृति प्रकाशित छन् । गत महिना उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक र आमा म आउँदैछु कविता सङ्ग्रह गरी दुई वटा कृति प्रकाशित भएका छन् ।