८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

पोर्चुगलमा एक नेपाली बेपत्ता

पोर्चुगलमा एक नेपाली बेपत्ता

न्युयोर्क- वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।  पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष  दीपेश विष्टले जानकारी दिए ।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए ।

हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए ।

बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए। ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।

सम्बन्धित खबर