३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

साउदी अरबमा लचिलो नीति

साउदी अरबमा लचिलो नीति

न्युयोर्क। साउदी अरबमा कार्यरत विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा दिन लागिएको छ । साउदी अरबस्थित नेपाली दूतावासका अनुसार साउदी सरकारले आप्रवासी घरेलु श्रमिकको हकमा केही लचकता देखाउँदै यस्तो सुधार गर्न लागेको हो ।

साउदी अरबको कडा नीतिले साउदी अरबमा घरेलु श्रमिकका रूपमा पठाउँदै आएका देशले घरेलु श्रममा नपठाउने नीति अवलम्बन गर्न थालेपछि साउदी सरकारले आफ्नो नीति सुधार्न बाध्य भएको बताइएको छ ।

साउदीको मानव संसाधन मन्त्रालयले तय गरेको नयाँ नीति अनुसार, घरेलु श्रमिकले साउदीमा आएको पहिलो दुई वर्षभित्र सम्झौता भङ्ग गरेमा ६० दिनभित्र देश छोड्न सक्ने व्यवस्था रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । श्रमिकले दुई वर्षपछि स्वेच्छाले काम छोडेमा भने ती श्रमिकलाई ६० दिनभित्र नयाँ रोजगारदाता खोज्न र परिवर्तन गर्न अनुमति दिइने व्यवस्था नयाँ नीतिमा गरिएको छ ।

नेपाललगायत श्रमिक पठाउने देशले घरेलु श्रमिकमाथि हुने शोषणका कारण साउदी अरेबियामा घरेलु श्रमिक आपूर्ति रोक्दै आएका छन् । नेपाली घरेलु श्रमिकलाई सुरक्षित वातावरणको प्रत्याभूति नभएकाले नेपालले पनि २०७२ सालदेखि नै घरेलु श्रमिक साउदी पठाउन प्रतिबन्ध लगाएको छ । श्रम वार्तामा नेपालले घरेलु श्रमिकका लागि सुरक्षा र अधिकार सुनिश्चित गर्न विभिन्न सर्त राख्दै आएको छ ।