८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन ।

भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जानकारी उपराष्ट्रपतिको सचिवालयले दिएको छ ।

उपराष्ट्रपति यादवले भने, ‘‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’’

उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९ औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताए।

‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानव अधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रहरूबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ’ उनले भने, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।’

उपराष्ट्रपति यादवले सार्क क्षेत्रका अपार सम्भावनाहरू (स्रोतहरूको उपयोग, जनसांख्यिकीय लाभ, सांस्कृतिक धरोहर) लाई अधिकतम उपयोग गरी क्षेत्रीय समृद्धि सुनिश्चित गर्नुपर्ने बताए । ‘क्षेत्रीय सहकार्यलाई जोड दिँदै जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तता र अफगानिस्तानको अनिश्चित भविष्यलगायतका जटिल राजनीतिक परिस्थितिका चुनौतीलाई सामूहिक रूपमा समाधान गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।

सार्कका महासचिव सरवरले आगामी ‘सार्क चार्टर डे’ को लागि सबै सदस्य राष्ट्रहरुको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकहरुका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताए। उनले भने, ‘‘सार्क राष्ट्रहरु सम्पन्न हुन साझा प्रयास जरुरी छ ।’’