२ चैत्र २०८२, सोमवार
16 March 2026, Monday

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ ।

जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठुलो कदम हो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट पाँचदेखि १० प्रतिशत सङ्घीय कर्मचारीले राजीनामा दिने अधिकारीहरूले अपेक्षा गरेका छन् । यसबाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास उनीहरूको छ ।

एएफपीले कर्मचारीबाट प्राप्त गरेको जानकारी अनुसार इमेलमा कर्मचारीलाई राजीनामाका मङ्गलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म लागु हुनेछ ।

ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधापछि सबै सङ्घीय कामदारहरू पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिएसँगै यो कदम चालिएको हो ।

यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर (हाल एक्स) को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देशसँग मिल्दोजुल्दो छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेलमार्फत् प्रतिक्रिया मागिएको छ ।

सम्झौता गर्न चाहने सङ्घीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ ।

ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी)को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ ।

इमेलमा भनिएको छ, “सङ्घीय श्रमशक्तिमा अमेरिकाको सबैभन्दा राम्रो जनशक्ति हुनुपर्छ । हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौं ।” एएफपी