जहाज र हेलिकप्टर ठोक्किँदा भएको दुर्घटनामा कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ
- १७ माघ २०८१
- २ मिनेटको पढाई
न्युयोर्क- वासिङ्टन डीसीको पोटोम्याक नदीमाथि अमेरिकी एयरलाइन्सको विमान र सैन्य हेलिकप्टर एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ । बीबीसीका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म कसैलाई पनि जीवित पाइएको छैन । अमेरिकी एयरलाइन्सको विमानमा ६४ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए भने सैन्य हेलिकप्टरमा तीन जना थिए ।
दुवै विमान रोनाल्ड रेगन राष्ट्रिय विमानस्थल नजिकै आकाशमा ठोक्किएका हुन् ।आपत्कालीन सेवा प्रमुख जोन डोनेलीका अनुसार हालसम्म २८ जनाको शव फेला परिसकेको छ । बुधवार साँझ अमेरिकी एयरलाइन्सको फ्लाइट ५३४२ र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमै ठोकिएका हुन् । दुर्घटनाको कारण पहिचानका लागि छानबिन जारी रहेको अधिकारीहरूले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।
६४ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको ‘फ्लाइट ५३४२’ कन्सासबाट वासिङ्टनतर्फ उडिरहेको थियो । सोही समयमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर पनि प्रशिक्षण उडानमा थियो । आकाशमै ठोक्किएर दुवै विमान नदीमा खस्दा ठूलो मानवीय र भौतिक क्षति भएको हो । सीएनएनका अनुसार यतिबेला करिब ३ सय उद्धारकर्मीले पोटोम्याक नदीमा दुर्घटनाग्रस्त विमान र हेलिकप्टरका भग्नावशेष खोजिरहेका छन् । वासिङ्टन डीसीका अग्नि नियन्त्रक प्रमुखले नदीको चिसो तापक्रम र कठोर वातावरणका कारण उद्धार कार्य चुनौतीपूर्ण भएको बताएका छन् । अन्तर्राष्ट्रिय हवाई सुरक्षा विशेषज्ञहरूले यो दुर्घटनाको कारण बुझ्ने प्रयास गरिरहेका छन् ।
अस्ट्रेलियाको सिभिल एभिएसन सेफ्टी अथोरिटीका टोनी स्ट्यान्टनले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘दुर्घटना वासिङ्टनको अत्याधुनिक एयर ट्राफिक प्रणालीको असफलताको परिणाम हो ।’ ‘ब्ल्याक हक हेलिकप्टरलाई फ्लाइट ५३४२ बाट भिजुअल सेपरेसन कायम गर्न भनिएको थियो, तर त्यो किन सम्भव भएन ?’ उनको प्रश्न छ । उनले थपे, ‘किन हेलिकप्टरले टावरको निर्देशन पालना गरेन भन्ने कुरा छानबिनको मुख्य विषय हो ।’ विशेषज्ञहरूले वासिङ्टन एयर ट्राफिक कन्ट्रोल टावरमा रहेका दुई छुट्टाछुट्टै रेडियो फ्रिक्वेन्सी प्रणाली पनि दुर्घटनाको कारक हुनसक्ने बताएका छन् ।
हेलिकप्टरहरूले एउटा फ्रिक्वेन्सी प्रयोग गर्छन् भने अन्य विमानहरूले अर्को फ्रिक्वेन्सी प्रयोग गर्छन् । टोनी स्ट्यान्टनले भने, ‘हक हेलिकप्टर र फ्लाइट ५३४२ले फरक-फरक फ्रिक्वेन्सीमा टावरसँग कुरा गरिरहेका थिए । यसले पाइलटहरूबीच सिचुएशनल अवेयरनेसको बाधा उत्पन्न गरेको हुन सक्छ ।’ घटनाले खेलकुद जगतमा पनि ठूलो क्षति पुर्याएको छ । यूएस फिगर स्केटिङ संघका अनुसार दुर्घटनामा संघका केही सदस्य पनि परेका छन् । रूसी सरकारी सञ्चारमाध्यमले पनि यसको पुष्टि गरेका छन् ।
घटनाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै भनेका छन्, ‘यो दुर्घटना पहिल्यै रोक्न सकिने थियो ।’ अमेरिकी हवाई सुरक्षा निकायले दुर्घटनाको विस्तृत अध्ययन शुरू गरेको छ । एयर ट्राफिक कन्ट्रोलको काम गर्ने प्रणाली, मौसमको अवस्था, हेलिकप्टर र विमानको प्राविधिक अवस्था, पाइलटहरूको सञ्चार र निर्णय प्रक्रियालगायतका पक्षमा अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।
घटनापछि रिगन नेशनल एयरपोर्ट बिहीबार बिहान ११ बजेसम्म बन्द गरिएको छ । विमानस्थलका अधिकारीले यात्रुलाई वैकल्पिक व्यवस्था गर्न सुझाव दिएका छन् ।