लस एन्जलसको जंगलमा डढेलो, १९ हजार बासिन्दा विस्थापित
- १० माघ २०८१
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको लस एन्जलस नजिकैको जंगलमा फेरि डढेलो फैलिएको छ। डढेलोका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यो डढेलो लस एन्जलस सहरबाट ४५ किलोमिटर टाढा रहेको कास्टिक तालनजिकको पहाडी क्षेत्रमा सल्केको हो।
डढेलोले अहिलेसम्म ८ हजार एकडभन्दा बढी क्षेत्रफल जलेर खरानी बनाइसकेको छ। सुक्खा झाडी र तीव्र हावाका कारण आगो झन् तीव्र गतिमा फैलिएको छ। पहाडी क्षेत्रसँगै धेरै आवासीय इलाका र स्कुलहरू रहेकोले जोखिम बढ्दै गएको छ।
हालसम्म डढेलोले कुनै घरमा क्षति पुर्याएको छैन, तर करिब १९ हजार मानिसलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ। डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रणकर्मीहरू खटिएका छन्, तर कठिन भूभाग र प्रतिकूल मौसमी अवस्थाले नियन्त्रण कार्यलाई थप चुनौतीपूर्ण बनाइरहेको छ।
यसअघि पनि क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो पूर्णरूपमा निभ्न सकेको छैन। ती डढेलो एक साताभन्दा बढी समयदेखि जारी छ, जसका कारण कैयौँ आलिसान भवनहरू ध्वस्त भएका छन् भने कम्तीमा २५ जनाको ज्यान गइसकेको छ।
विशेषज्ञहरूका अनुसार सुक्खा मौसमी अवस्था, तीव्र हावा, र घना झाडीले आगो फैलन इन्धनका रूपमा काम गरिरहेका छन्। स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ भने अस्थायी शिविरहरूमा उनीहरूको खानपिन र बसोबासको व्यवस्था गरिएको छ।
डढेलो नियन्त्रणका लागि हेलिकप्टर, दमकल, र अन्य उपकरण प्रयोग भइरहेका छन्। तर, तीव्र हावा र कठिन भूभागका कारण आगो निभाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।
विशेषज्ञहरूले यस्ता डढेलो नियन्त्रणका लागि दीर्घकालीन उपायहरू आवश्यक रहेको बताएका छन्। सुक्खा झाडी समयमै हटाउने, मौसम पूर्वानुमानको आधारमा सावधानी अपनाउने, र स्थानीय समुदायलाई सचेत गराउँदै सहकार्यका माध्यमबाट डढेलोको जोखिम न्यून गर्ने उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ।
डढेलोले अहिलेसम्म मानवीय क्षति नगराए पनि स्थानीय बासिन्दाहरू भयभीत भएका छन्। बारम्बार हुने यस्ता प्राकृतिक विपत्तिले सहर र ग्रामीण क्षेत्रलाई प्रभावित बनाइरहेकोले यस्ता अवस्थालाई व्यवस्थित गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।