१२ बैशाख २०८२, शुक्रबार
25 April 2025, Friday

सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १९ अर्ब डलर पुग्यो

सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १९ अर्ब डलर पुग्यो

न्युयोर्क- सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष अरू देशमा हुने हतियारको बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १८ अर्ब ७० करोड डलर पुगेको छ ।

विशेषगरी युक्रेन र इजरायलमा हुने विक्रिमा ठूलो वृद्धि देखिएको विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । हतियार बिक्रीको वृद्धि यो वर्ष पनि बढ्ने देखिएको छ । किनकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशहरुले जीडीपीको पाँच प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने एजेन्डा बलियो बनाउने अनुमान छ ।

विश्वका विभिन्न क्षेत्रमा भइरहेको युद्धका कारण अमेरिकाबाट हतियार किन्ने निवेदन अमेरिकी रक्षा मन्त्रालयमा थुप्रिएका छन् । सन् २०२४ मा टर्कीमा २३ अर्ब डलरको एफ–१६ जेट बिक्री र स्तरोन्नती, इजरायलमा झन्डै १९ अर्ब डलरको एफ–१५ लडाकू जेट र रोमानियामा साढे दुई अर्ब डलरको एम वन ए टू अब्राम्स ट्याङ्क पनि बिक्री भएका थिए । यी निकै ठूला कारोबार हुन् ।

विदेशी सरकारहरूले अमेरिकी कम्पनीहरूबाट हतियार खरिद गर्ने दुई वटा प्रमुख तरिकाहरू छन् । एउटा सिधैं अमेरिकी कम्पनीसँग खरिद वा अमेरिकी सेना र रक्षा विभाग हुँदै गरिने खरिद रहेकाे छ । तर दुवै खरिदको लागि अमेरिकी सरकारको स्वीकृति चाहिन्छ ।

अमेरिकी कम्पनीहरूको प्रत्यक्ष हतियार बिक्री आर्थिक वर्ष २०२३ मा एक खर्ब ५७ अर्ब ५० करोड डलरबाट बढेर २०२४ मा दुई खर्ब आठ अर्ब डलर पुगेको छ । जबकी अमेरिकी सरकारमार्फत भएको बिक्री २०२४ मा एक खर्ब १७ अर्ब नौ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष ८० अर्ब ९० करोड डलर थियो ।