२ चैत्र २०८२, सोमवार
16 March 2026, Monday

दक्षिण–पूर्वी एशियामा क्यान्सर रोकथाम गर्न क्षेत्रीय रणनीति सुरु

दक्षिण–पूर्वी एशियामा क्यान्सर रोकथाम गर्न क्षेत्रीय रणनीति सुरु

न्युयोर्क। विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई निरन्तर अगाडि बढाएको छ ।

सङ्गठनले सदस्य राष्ट्र तथा साझेदारहरूसँग व्यापक क्यान्सर रोकथाम सन् २०२४–२०३० का लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति विकास गर्न कामसमेत गरिरहेको छ ।

दक्षिण–पूर्वी एसियाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक साइमा वाजेदले भने,“डब्लूएचओले संयुक्त राष्ट्र सङ्घका अन्य एजेन्सी र विकास देशसँगको सहकार्यमा कार्य गरिरहेको छ ।”

“प्रत्येक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रूपमा मनाइन्छ । यो वर्ष क्यान्सर विरुद्धको पेरिसको बडापत्रमा हस्ताक्षर भएको २५ वर्ष पूरा भएको छ ।”

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा सन् २०२२ मा क्यान्सरका २४ लाख नयाँ घटना देखिएका थिए, जसमा ५६ हजार बालबालिका रहेका थिए ।

“हाम्रो क्षेत्रमा ओठ र पाठेघर क्यान्सरको उच्च घटना रहेको छ ।” सन् २०५० सम्ममा यस क्षेत्रमा नयाँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या ८५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

डब्ल्यूएचओ क्षेत्रीय निर्देशकका अनुसार पछिल्ला केही वर्षमा यस क्षेत्रका देशले क्यान्सर नियन्त्रणमा उल्लेखनीय प्रगति गरेका छन् । छ देशले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय योजनाहरू समर्पित गरेका छन् । दुई देशले क्यान्सर रोकथाम र नियन्त्रण गतिविधिलाई रणनीतिक रूपमा मार्गदर्शन गर्न राष्ट्रिय योजनाको भागको रूपमा क्यान्सरलाई समावेश गरेका छन् ।