२ चैत्र २०८२, सोमवार
16 March 2026, Monday

युक्रेनका राष्ट्रपति जेलेन्स्की ‘तानाशाह’ रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

युक्रेनका राष्ट्रपति जेलेन्स्की ‘तानाशाह’ रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ‘तानाशाह’ रहेको टिप्पणी गर्नुभएको छ । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी उपद्रो मच्चाएको टिप्पणीसहित ट्रम्पले जेलन्स्कीले चुनाव गर्न इन्कार गरेको आरोपसमेत लगाएको बीबीसीले जनाएको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि युक्रेनमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो । यसअघि जेलेन्स्कीले साउदी अरबमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पलाई रुसको गलत सूचनाबाट घेराबन्दीमा परेको आरोप लगाएका थिए।

अमेरिका–रुसबीचको वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन । युरोपेली देशहरूले पनि युक्रेनको सहभागिताविनाको वार्तालाई मान्यता नदिने बताएका छन् । फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्कलगायतका युरोपेली देशहरू युक्रेनको पक्षमा एकजुट भएका छन् ।

युक्रेनविना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ । तर साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको समेत बताएका थिए।

दुई देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबीच युक्रेन युद्ध अन्त्यका गर्ने सहमति भएको थियो । त्यसका लागि उच्चस्तरीय वार्ता गर्ने निर्णय समेत भएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन ।