७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

दुई यात्रु बस आपसमा ठोक्किँदा ३७ जनाको मृत्यु, ३० घाइते

दुई यात्रु बस आपसमा ठोक्किँदा ३७ जनाको मृत्यु, ३० घाइते

उयुनी, बोलिभिया – बोलिभियामा भएको गम्भीर सवारी दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

शनिबार बिहान दक्षिणपश्चिमी सहर उयुनीबाट करिब ५ किलोमिटर टाढा दुई यात्रुबहाक बस आपसमा ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका बसमध्ये एकका चालक गम्भीर घाइते भई आईसीयूमा उपचाररत छन् भने अर्का चालकको अवस्था सामान्य रहेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बसहरू उयुनी र कोल्चानीको बीचमा ठोक्किएका थिए। दुर्घटनामा परेका बसहरू स्थानीय समयअनुसार बिहान १०:०० बजे (१४:०० GMT) सम्म उद्दार गरिएकाे थियाे भने घाइतेहरूलाई ओरुरो र पोटोसीका अस्पतालहरूमा भर्ना गरिएको छ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको तथा घाइतेहरूको अवस्था अझै निर्धारण हुन नसकेको प्रहरीले जनाएको छ।

बोलिभियामा यस्ता घातक सवारी दुर्घटनाहरू प्रायः हुने गरेका छन्। यसअघि फेब्रुअरी महिनामा एउटा बस ८०० मिटर गहिरो खोंचमा खस्दा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।

त्यस्तै, जनवरी महिनामा पोटोसी नजिकै अर्को बस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए।

सरकारी तथ्यांकअनुसार करिब १ करोड २० लाख जनसंख्या भएको बोलिभियामा वार्षिक औसत १,४०० जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।