अवैध आप्रवासी लुकाएर व्यवसायिक फाइदा लिएको आरोपमा सुशी रेस्टुरेन्ट सञ्चालक दोषी ठहर
- २१ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क– अमेरिकी अध्यागमन तथा सीमा शुल्क प्रवर्तनको अनुसन्धानपछि फ्लोरिडाको ज्याक्सनभिल बीचस्थित सुशी रेस्टुरेन्टकी सञ्चालक एक महिला अवैध आप्रवासी लुकाएर व्यवसायिक फाइदा लिएको अभियोगमा दोषी ठहर भएकी छिन्।
३७ वर्षीया पिङ पिङ झेङलाई अधिकतम १० वर्षको संघीय जेल सजाय हुन सक्नेछ। दोषी ठहर भएसँगै झेङले अमेरिकी सरकारलाई आफ्नो ज्याक्सनभिलस्थित घर तथा एउटा ट्रान्जिट भ्यान जफत गर्न सहमति जनाएकी छिन्। तर, अदालतले उनलाई कहिले सजाय सुनाउने भन्ने मिति तय भइसकेको छैन।
अदालतका कागजातअनुसार, झेङले ज्याक्सनभिल बीचमा रहेको “Kamiya 86 Asian Bistro and Sushi Bar” सञ्चालन गर्थिन्। उनले अवैध रूपमा अमेरिका आएका व्यक्तिहरूलाई गैरकानुनी रूपमा रोजगारी दिएर संघीय रोजगार तथा अध्यागमन कानुन उल्लंघन गरिन्।
झेङले ती कामदारहरूबाट रोजगारीका लागि आवश्यक कागजातहरू मागिनन्, जसका कारण उनीहरू कानुनी रूपमा काम गर्न योग्य थिएनन्। उनले तलब नगदमा भुक्तानी गरी कर कटौतीसम्बन्धी कुनै सरकारी प्रक्रियाहरू पूरा नगरी अवैध आर्थिक कारोबार पनि गरिन्।
झेङले ती अवैध श्रमिकहरूलाई आफ्नै घरमा निःशुल्क बसोबासको व्यवस्था गरिन्। उनीहरूलाई काम गर्ने स्थान र घरबीच निःशुल्क यातायात सेवा प्रदान गरिन्थ्यो। साथै, रेस्टुरेन्टमा काम गर्दा निःशुल्क खाना पनि दिइन्थ्यो।
यो मुद्दाको अनुसन्धान आईसीई ज्याक्सनभिल र अमेरिकी सीमा गस्ती (U.S. Border Patrol) ले संयुक्त रूपमा गरेका थिए, भने ज्याक्सनभिल बीच प्रहरी विभागले समेत अनुसन्धानमा सहयोग गरेको थियो।
सरकारी तर्फबाट यो मुद्दा सहायक अमेरिकी सरकारी वकिल आर्नोल्ड बी. कर्समेयरले अभियोजन गरिरहेका छन्।