२६ चैत्र २०८१, मङ्लबार
8 April 2025, Tuesday

स्पेसएक्सको स्टारशिप फेरि विस्फोट, फ्लोरिडाको हवाई यातायात प्रभावित

स्पेसएक्सको स्टारशिप फेरि विस्फोट, फ्लोरिडाको हवाई यातायात प्रभावित

न्युयोर्क- स्पेसएक्सले बिहीबार राति आफ्नो विशाल स्टारशिप मेगारकेट प्रणालीको आठौं परीक्षण उडान सञ्चालन गर्यो। तर, अघिल्लो परीक्षण उडानको असफलताबाट सिक्दै लक्ष्य पूरा गर्ने अपेक्षा गरिए पनि, यो उडान पनि असफल रह्यो।

स्पेसएक्सले सुपर हेभी बूस्टरलाई सफलतापूर्वक ल्यान्ड गर्‍यो, तर स्टारशिप उडानकै क्रममा विस्फोट भई नष्ट भयो। यस घटनाले फ्लोरिडाको व्यस्त विमानस्थलहरूमा हवाई यातायात अवरुद्ध गर्यो। अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) ले “खस्न सक्ने अन्तरिक्षीय भग्नावशेष” को जोखिमका कारण मियामी, फोर्ट लाउडरडेल, अर्ल्यान्डो, र पाम बीच विमानस्थलहरूमा उडान रोकेको थियो।

स्टारशिप परीक्षण उडान अमेरिकी केन्द्रीय समयअनुसार साँझ ५:३० बजे (पूर्वी समय ६:३० बजे) टेक्सासको स्पेसएक्स स्टारबेसबाट प्रक्षेपण गरिएको थियो।

अन्तरिक्षयानको माथिल्लो खण्ड स्टारशिप, २३२ फिट (७१ मिटर) अग्लो सुपर हेभी बूस्टरमा राखिएको थियो। स्पेसएक्सका अनुसार, उडानको अन्त्य हुन करिब २० सेकेन्ड बाँकी रहँदा स्टारशिपको धेरै इन्जिन बन्द भए।

“केन्द्रका पर्याप्त इन्जिनहरू बन्द भएपछि, उडान नियन्त्रण गुम्न जान्छ,” स्पेसएक्सका सञ्चार व्यवस्थापक ड्यान हुटले भने। “त्यसपछि स्टारशिप अनियन्त्रित घुम्न थाल्यो, र अन्ततः सम्पर्क विच्छेद भयो।”

दुर्घटनापछि, विस्फोटको झल्को फ्लोरिडा तथा क्यारिबियन क्षेत्रका विभिन्न स्थानहरूबाट देखिएको थियो। FAA ले मियामी, फोर्ट लाउडरडेल, पाम बीच, र अर्ल्यान्डोका विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्‍यो।

फोर्ट लाउडरडेल अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेट ढिलाइमा उडानहरू पुन: सञ्चालन भए भने मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ मिनेट ढिलो गरी उडानहरू सुचारु भएका थिए।

स्पेसएक्सले जारी गरेको आधिकारिक विवरणअनुसार, स्टारशिपको पछिल्लो भागमा शक्तिशाली विस्फोट भएर धेरै राप्टर इन्जिनहरू नष्ट भएका थिए। यसले यानको सन्तुलन बिगार्दै सम्पर्क विच्छेद गरायो।

FAA ले स्पेसएक्सलाई दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। “यस अनुसन्धानको उद्देश्य सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै दुर्घटनाको कारण पहिचान गर्ने र पुनः यस्ता घटनाहरू हुन नदिन आवश्यक सुधारहरू सिफारिस गर्ने हो,” FAA को विज्ञप्तिमा उल्लेख छ।

तुर्क्स एन्ड काइकस सरकारका अनुसार, विस्फोटपछि केही भग्नावशेष टापुहरूमा खसेका थिए। स्थानीय सुरक्षा संयन्त्रहरूले घटनाबारे अनुसन्धान गरिरहेको छ।
जनवरीमा भएको सातौं उडान विस्फोटपछि तुर्क्स एन्ड काइकस टापुहरूमा पनि भग्नावशेष खसेका थिए, जसले हवाई यातायातमा बाधा पुर्‍याएको थियो।

स्पेसएक्सले “र्‍यापिड इटेरेटिभ डेभलपमेन्ट” रणनीति अपनाउँदै आएको छ, जसमा बारम्बार परीक्षण गर्दै नयाँ सुधारहरू लागू गरिन्छ।

तर पछिल्ला दुई दुर्घटनाहरूमा यानको भग्नावशेष जनघनत्व भएका क्षेत्रमा खस्नु गम्भीर चिन्ताको विषय बनेको छ। यसले FAA को नियमन प्रणाली र व्यावसायिक अन्तरिक्षयानहरूलाई अनुमति दिने प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।

स्पेसएक्सले स्टारशिपमा विभिन्न प्रविधिगत सुधारहरू गरिरहेको छ, जसमा नयाँ भेन्ट प्रणाली, इन्धन प्रवाह सुधार, र उच्च-शक्ति कम्प्युटरहरू थपिएका छन्।

सुपर हेभी बूस्टर भने यस पटक सफलतापूर्वक ल्यान्ड गरियो, जुन कम्पनीका लागि ठूलो उपलब्धि हो। स्पेसएक्सले स्टारशिपलाई चाँडै पुन: परीक्षण उडानमा पठाउने योजना बनाएको छ, तर FAA को स्वीकृति आवश्यक पर्नेछ।