२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

ट्रम्पको देशनिकाला अभियान तीव्र, होमल्यान्ड सेक्युरिटीमा नयाँ नेतृत्व आउँदै

ट्रम्पको देशनिकाला अभियान तीव्र, होमल्यान्ड सेक्युरिटीमा नयाँ नेतृत्व आउँदै

 

न्युयोर्क-  राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो आप्रवासी देशनिकाला अभियानलाई तीव्रता दिएको छ। ‘होमल्यान्ड सेक्युरिटी’ विभागमा नयाँ नेतृत्व आउने तयारी भइरहँदा यो अभियान झन् कडा हुने देखिएको छ।

यस वर्ष करिब १० लाख आप्रवासीलाई देशनिकाला गर्ने लक्ष्यसहित ट्रम्प प्रशासनले अध्यागमन अधिकारीहरू थप्न र नयाँ हिरासत केन्द्रहरू बनाउन अर्बौं डलर खर्च गरिरहेको छ।

केही रिपब्लिकन नेताहरूले आपराधिक पृष्ठभूमि भएकालाई मात्र निसाना बनाउनुपर्ने बताए पनि प्रशासन भने भिसा अवधि सकिएका र कागजपत्र नभएका सबैलाई हटाउने योजनामा छ। अर्कोतर्फ, धरपकडका क्रममा अमेरिकी नागरिककै ज्यान गएको भन्दै डेमोक्र्याटिक सांसदहरूले विभागको नियमित बजेट रोक्ने चेतावनी दिएका छन्।

कृषि र रेस्टुरेन्ट जस्ता व्यवसायमा कामदारको अभाव हुने भन्दै केहीले चिन्ता व्यक्त गरेका छन्। तर, अनुदारवादी समूहहरूले भने ट्रम्पलाई आफ्नो चुनावी वाचा पूरा गर्दै देशनिकाला अभियान बढाउन दबाब दिइरहेका छन्। अधिकारकर्मीहरूका अनुसार, प्रशासनले अस्थायी कानुनी अनुमतिहरू खारेज गरेर आप्रवासीहरूलाई आफैँ देश छाड्न बाध्य पार्ने रणनीति लिन सक्नेछ।