२ कार्तिक २०८३, आइतवार
18 October 2026, Sunday

न्युयोर्कमा अधिकारीको गोली लागेका ओस्कार अदालतमा उपस्थित

न्युयोर्कमा अधिकारीको गोली लागेका ओस्कार अदालतमा उपस्थित

न्युयोर्क- न्युयोर्कमा अमेरिकी अध्यागमन अधिकारी (आइसिई) को गोली लागेका डोमिनिकन नागरिक ओस्कार बेल्गल बिहीबार अदालतमा उपस्थित भएका छन्। घाँटीमा गोली लागेका उनी ब्रुकलिनको जेलबाट भिडिओ लिङ्कमार्फत अध्यागमन अदालतमा उपस्थित भएका हुन्।

२८ वर्षीय ओस्कारको घाँटीमा अझै गोली छ र निकाल्न शल्यक्रिया गर्नुपर्ने उनका वकिलले बताएका छन्। उनलाई जेलमा २४ सै घण्टा एक्लै (सोलिटरी कन्फाइनमेन्ट) राखिएको छ। उनले परिवारसँग फोनमा कुरा गर्न पनि पाएका छैनन्। वकिलले उनलाई त्यहाँबाट सार्न अनुरोध गरे पनि सुनुवाइ भएको छैन।

गत अक्टोबर ८ मा ५ वर्षे छोरालाई स्कुलबाट लिएर पार्किङ गर्ने क्रममा अधिकारीहरूले उनलाई गोली हानेका थिए। सादा पोसाक र मास्क लगाएका अधिकारीहरूले आफ्नो परिचय नदिई एक्कासि गाडीको सिसा फुटाएको र ओस्कारले गाडी कुदाउन खोज्दा गोली चलाएको वकिलको दाबी छ। तर, सरकारी अधिकारीहरूले भने ओस्कारले सरकारी गाडीलाई ठक्कर दिएर अधिकारीहरूतर्फ गाडी हुइँक्याएपछि ज्यान जोगाउन गोली चलाएको दाबी गरेका छन्।

प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेजबाट पनि घटना कसरी भयो भन्ने प्रस्ट भएको छैन। ओस्कारको अर्को सुनुवाइ अक्टोबर २९ मा हुनेछ। उनका वकिलहरूले उनलाई रिहा गर्न माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्।