विश्वकप लिग-२: ओमानमाथि नेपालको १० रनको रोमाञ्चक जित
- ०२ कार्तिक २०८३
- १ मिनेटको पढाई
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई १० रनले हराएको छ। यो जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
ओमानको अल अमेरत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८१ रनको बलियो लक्ष्य दिएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। ओमानका साह फैसल एक्लैले ५ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओमानका जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २-२ विकेट लिए भने सन्दीप लामिछाने र नन्दन यादवले १-१ विकेट हात पारे। लिग-२ को ३६ खेल सकाएको नेपालले १४ खेलमा जित निकाल्दै जम्मा ३० अङ्क जोडेको छ।