विश्वकप लिग-२: रोहितको शतकमा क्यानडामाथि नेपालको २४ रनको जित
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
ओमानमा भइरहेको आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलामा नेपालले क्यानडालाई २४ रनले हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट शतक प्रहार गरे। उनले १०७ बलमा ८ चौका र १ छक्काको मद्दतमा १०१ रन बनाए। त्यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे। क्यानडाका बलर अखिल कुमारले सर्वाधिक ४ विकेट लिए।
२३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव ४ ओभरमा २११ रनमै अलआउट भयो। क्यानडाका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५ र अखिल कुमारले अविजित ३० रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका बलरहरू ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले २-२ विकेट लिए।