न्युयोर्कमा ‘हामी नेपाली इन्टरनेशनल’द्वारा पार्क सरसफाइ कार्यक्रम सम्पन्न
२५ अशोज २०८३
१ मिनेटको पढाई
न्युयोर्क- ‘हामी नेपाली इन्टरनेशनल’ र ‘सिटी पार्क फाउण्डेसन’को सहकार्यमा सार्वजनिक पार्क सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अक्टोबर १०, शनिबारका दिन बिहान ११ बजेदेखि दिउँसो १२:३० सम्म यो कार्यक्रम सञ्चालन गरिएको थियो।
न्युयोर्कको क्विन्सस्थित ब्रोडवे र ७८ औं स्ट्रिटको चोकमा रहेको फ्र्याङ्क डी. ओ’कनर प्लेग्राउन्डमा सरसफाइ गरिएको हो। यो पार्क एल्महर्स्ट अस्पतालको अगाडि रहेको छ। ‘सफा पार्क, हरियो भविष्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस अभियानमा स्थानीय समुदाय र स्वयंसेवकहरू सहभागी भएका थिए।
‘हामी नेपाली इन्टरनेशनल’का संस्थापक अध्यक्ष नवराज केसीले छिमेकलाई सफा, हरियाली र सुन्दर राख्न आफ्नो अमूल्य समय दिने सबै स्वयंसेवक, समुदायका सदस्य र समर्थकलाई धन्यवाद दिए। यो सहभागिताले सामुदायिक सेवा, एकता र वातावरणीय जिम्मेवारीको वास्तविक भावना देखाएको उनले बताए। सबै मिलेर सफा, स्वस्थ र स्वागतयोग्य वातावरण निर्माण गरिरहेको भन्दै उनले अभियान सफल बनाउन सहयोग गर्ने सबैको प्रशंसा गरे।