२४ अशोज २०८३, शनिबार
10 October 2026, Saturday

ममता काफ्ले हत्या प्रकरण: अदालतमा आमा भावुक, साथीले खोलिन् घरेलु हिंसाको पोल

ममता काफ्ले हत्या प्रकरण: अदालतमा आमा भावुक, साथीले खोलिन् घरेलु हिंसाको पोल

न्युयोर्क- अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको अदालतमा ममता काफ्ले भट्ट हत्या प्रकरणको सुनुवाइअन्तर्गत बिहीबार ७ जना साक्षीले बयान दिएका छन्। आफ्नी श्रीमती ममताको हत्या गरी शव लुकाएको आरोप खेपिरहेका नरेश भट्टको मुद्दामा प्रहरी अधिकारी, ममताकी आमा, साथी र सहकर्मीले अदालतमा उपस्थित भएर बयान दिए।

आमा गीताको भावुक बयान
अदालतमा ममताकी आमा गीता काफ्लेले अनुवादकमार्फत बयान दिइन्। छोरी हराएकाले खोज्न आफू अमेरिका आएको उनले बताइन्। गत जुलाई ३०, २०२४ पछि छोरीसँग कुनै सम्पर्क नभएको र उनी कहाँ छिन् भन्ने पनि थाहा नभएको गीताले बताइन्। “मेरी छोरी मलाई नभनी कतै जाँदिनन्,” उनले भनिन्। बयानका क्रममा गीता रोएकी थिइन् भने त्यही बेला नरेशले पनि आफ्ना आँसु पुछेका थिए।

मिल्ने साथीले खोलिन् हिंसाको कुरा
ममताकी मिल्ने साथी सरिता न्यौपानेले नरेशमाथि अन्य महिलासँगको सम्बन्ध र शारीरिक हिंसाको आरोप लगाइन्। गत फेब्रुअरी महिनामा नरेशले अरू महिलासँग कुरा गरेको थाहा पाएपछि ममता रोँदै आफ्नो घरमा आएर १९ दिन बसेको सरिताले बताइन्। ममता सम्बन्धविच्छेद गरेर छोरी आफैँसँग राख्न चाहन्थिन्, तर नरेश त्यसका लागि तयार थिएनन्। सरिताका अनुसार ममताले आफ्नो अनुहारमा लागेको चोटको भिडियो देखाउँदै नरेशले कुटपिट गरेको बताएकी थिइन्। बचाव पक्षका वकिलले सरिता आफैँले कुटेको नदेखेको भन्दै विरोध गरे पनि न्यायाधीशले उक्त बयानलाई मान्यता दिए।

प्रहरीको अनुसन्धान र भिडियो प्रमाण
अनुसन्धानमा खटिएकी मनसास पार्क प्रहरीकी जासुस क्लाउडिया भेन्टुराले ममताको सामाजिक सञ्जाल हेर्दा उनी छोरीप्रति निकै समर्पित रहेको पाइन्। “कुनै पनि आमाले आफ्नो बच्चा यसरी छोड्दिनन्, यो स्वाभाविक छैन,” भेन्टुराले भनिन्। त्यसपछि उनले ममताको खोजीको अवस्थालाई गम्भीर मान्दै अदालतबाट सामाजिक सञ्जाल र फोन रेकर्ड हेर्ने अनुमति लिइन्।

अगस्ट ९ मा नरेशको घर खानतलासी गर्दाको बडीक्याम भिडियो पनि अदालतमा देखाइयो। भिडियोमा नरेशले आफूहरूको सन् २०२० मा मागी विवाह भएको र आफ्नो संस्कृतिमा सम्बन्धविच्छेद गर्ने चलन नभएको बताएका छन्। यद्यपि ममताले यसअघि पनि सम्बन्धविच्छेदको कुरा निकालेको र उनी पहिले पनि दुई हप्ताका लागि घर छाडेर हिँडेको दाबी नरेशले गरेका छन्।

सार्जेन्ट ब्राडी पेलाथले अगस्ट ५ मा नरेशले नै ममता हराएको रिपोर्ट दर्ता गराएको बताए। नरेशले आफूहरूबीच खटपट चलिरहेको र सम्बन्धविच्छेदको अवस्थामा पुगेको बताएका थिए। सुरुमा पेलाथले श्रीमान्-श्रीमतीबीच खटपट पर्दा केही दिन बाहिर जानु सामान्य ठानेर रिपोर्टलाई गम्भीर रुपमा लिएका थिएनन्। पछि उनले अस्पताल र जेलहरूमा खोजी गरेका थिए। बचाव पक्षका वकिलले भने नरेश आफैँले प्रहरीलाई अस्पताल र जेलमा खोज्न आग्रह गरेको कुरामा जोड दिए।

त्यसैगरी, पूर्वप्रहरी अधिकृत एडगर जेन्टिनोले नरेशले मागेपछि मात्र आफूले भिजिटिङ कार्ड दिएको बताए भने ममताकी सहकर्मी चेल्सी केयले ममता सधैँ छोरीको बारेमा मात्र कुरा गर्ने गरेको बयान दिइन्।

बिहीबारको सुनुवाइ सवा ४ बजे सकिएको छ। अब बाँकी सुनुवाइ आउँदो मंगलबार बिहान ९ बजेबाट सुरु हुनेछ।