८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

एसियाली खेलकुद: कराँतेका तेन्जिङले जिते नेपालका लागि पहिलो पदक

एसियाली खेलकुद: कराँतेका तेन्जिङले जिते नेपालका लागि पहिलो पदक

नागोया (जापान)- जापानको नागोयामा भइरहेको एसियाली खेलकुद २०२६ मा नेपालले पहिलो पदक जितेको छ। बुधबार भएको खेलमा कराँते खेलाडी तेन्जिङ शेर्पाले कास्य पदक जित्दै प्रतियोगिताको पाँचौँ दिनमा नेपालको पदकको खाता खोलेका हुन्।

पुरुष कुमितेतर्फ ८४ केजीभन्दा माथिको तौल समूहमा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ अङ्कले सजिलै हराएर कास्य पदक पक्का गरे। यसअघि अन्तिम आठको खेलमा मकाउका खेलाडीलाई हराउँदै उनी सेमिफाइनल पुगेका थिए। तर, सेमिफाइनलमा इरानका खेलाडीसँग ५–० ले पराजित भएपछि उनले कास्य पदकका लागि खेल्नुपरेको थियो।

यसपटक प्रतियोगितामा सहभागी अन्य सात जना नेपाली कराँते खेलाडीले भने कुनै पदक जित्न सकेनन्। सबै खेलाडी रित्तो हात फर्किने डर भइरहेका बेला तेन्जिङले पदक दिलाएर खुशी थपेका छन्।

एसियाली खेलकुदमा तेक्वान्दो र बक्सिङपछि कराँते नेपालका लागि सबैभन्दा सफल खेल मानिन्छ। यसअघिका प्रतियोगिताहरूमा पनि नेपालका एरिकाले रजत तथा सीता राई, समरबहादुर गोले र विमला तामाङले कराँतेमा कास्य पदक जितिसकेका छन्।