८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

बुबाको निधनले मेस्सी अनुपस्थित, मियामी मोन्टेरेसँग पराजित

बुबाको निधनले मेस्सी अनुपस्थित, मियामी मोन्टेरेसँग पराजित

न्युयोर्क- बुबाको निधनपछि कप्तान लियोनल मेस्सी अनुपस्थित रहेको खेलमा इन्टर मियामी पराजित भएको छ। शनिबार भएको लिग्स कपको समूह चरणको खेलमा मियामीलाई मेक्सिकन क्लब मोन्टेरेले २-१ गोलले हराएको हो।

खेल सुरु हुनुअघि मेस्सीका बुबा जर्ज मेस्सीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। उनको ६८ वर्षको उमेरमा अर्जेन्टिनामा निधन भएको हो। मेस्सी शनिबार राति नै अर्जेन्टिना पुगेका छन्। इन्टर मियामीले विज्ञप्ति निकाल्दै दुःखको यस घडीमा कप्तान मेस्सी र उनको परिवारको साथमा रहेको बताएको छ।

खेलको ३२औं मिनेटमा रोड्रिगो डि पाउलले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ४७औं मिनेटमा मोन्टेरेका हुगो कुइपर्सले बराबरी गोल फर्काए। त्यसपछि खेलको अन्तिम ९०औं मिनेटमा डिएगो रोस्सीले गोल गर्दै मोन्टेरेलाई जित दिलाए।

यसअघि समूह चरणको पहिलो खेलमा मियामीले एट्लेटिको सान लुइसलाई ४-२ ले हराएको थियो। अब मियामीले बुधबार लियोनसँग खेल्नेछ।