८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

फेसबुक र इन्स्टाग्राममा ठगी गर्ने ३७ लाख अकाउन्ट र पेज हटाइए

फेसबुक र इन्स्टाग्राममा ठगी गर्ने ३७ लाख अकाउन्ट र पेज हटाइए

न्युयोर्क- सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा ठगी गर्ने ३७ लाखभन्दा बढी अकाउन्ट तथा पेजहरू हटाएको छ। सिङ्गापुर प्रहरीले दिएको सूचनाको आधारमा मेटाले यो ठुलो कारबाही गरेको हो।

मेटा र सिङ्गापुर प्रहरीबिच पछिल्लो दुई वर्षदेखि यस्ता सूचना आदानप्रदान भइरहेको छ। यही सहकार्यका कारण ठगी गर्ने समूह पहिचान गर्न सजिलो भएको कम्पनीले जनाएको छ। मेटाका अनुसार, यो वर्षको जनवरीदेखि जुनसम्म मात्रै १ लाख १३ हजारभन्दा बढी अकाउन्ट र पेज हटाइएका थिए। त्यसैगरी, जुलाई महिनामा भविष्यमा ठगी गर्न भनेर बनाइएका ३६ लाखभन्दा बढी खाली पेजहरू बन्द गरिए।

मेटाका एसिया–प्रशान्त क्षेत्रका निर्देशक ड्यारिल पुनले प्रहरीसँगको सहकार्यले गर्दा धेरै मानिस ठगिनबाट बचेको बताए। त्यस्तै, अर्की निर्देशक क्लारा कोहले ठगहरूले अहिले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर नक्कली प्रोफाइल र तस्बिर बनाउने गरेको बताइन्।

ठगहरूले धेरै मानिसलाई झुक्याउनुअघि नै त्यस्ता सामग्री पहिचान गरेर हटाउने र आफ्नो सुरक्षा प्रणाली अझ बलियो बनाउने मेटाले जनाएको छ।