१ अशोज २०८३, बिहिबार
17 September 2026, Thursday

एआई नियमनका लागि विश्वव्यापी एकजुटता आवश्यक : राष्ट्रसंघ

एआई नियमनका लागि विश्वव्यापी एकजुटता आवश्यक : राष्ट्रसंघ

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को नियमन गर्न विश्वभरका देशहरू एकजुट हुनुपर्ने बताएका छन्। राष्ट्रसंघीय महासभाको पत्रकार सम्मेलनमा बोल्दै उनले एआईको सुरक्षित र जिम्मेवार विकासका लागि साझा समझदारी आवश्यक रहेको प्रस्ट पारे।

उनले विश्वमा देखिएको भूराजनीतिक विभाजनका कारण एआई सुरक्षामा चुनौती थपिएको चेतावनी दिए। जलवायु संकट र असमानतासँगै एआई पनि मानव अस्तित्वकै लागि ठूलो खतरा बन्न सक्ने भन्दै उनले यसलाई सुरक्षित र जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सहयोग जरुरी रहेको औँल्याए।

एआईले दिगो विकास, स्वास्थ्य र शिक्षामा सकारात्मक परिवर्तन ल्याउन सक्ने भए पनि यसको दुरुपयोगले गम्भीर जोखिम निम्त्याउने गुटेरेसले बताए। एआईको विकास मानिसको बुझाइभन्दा निकै छिटो अघि बढिरहेकाले आफ्ना नागरिकको सुरक्षा गर्नु सबै सरकारको पहिलो दायित्व भएको उनको भनाइ छ। एक्लाएक्लै गरिने सामान्य प्रयासले मात्र यो जटिल समस्या समाधान नहुने उनले प्रस्ट पारेका छन्।